Thursday, August 07, 2008

मेरी अध्यारोकी अनामिका

ऊ छे
अहिले पनि त्यही छे
त्यही झ्यालमा
मलाई पर्खीरहेकी
मानौ मैले सुम्सुम्याएको कुकुर
ऊ नै हो
अनी शायद ऊ पनि
मेरो फुस्रो स्नेहमा
मेरा आँखा अगाडि
र म गए पछि पनि
पुच्छर हल्लाउदी हो!

उस्ले चियो गर्न चाहेकी होइन
मलाई थाहा छ
ऊ त केवल
एक साधारण मान्छे हेर्न चाहन्छे।

दुनियाँ नबुझेको अबुझ
आफ्नो कुवालाई संसार ठान्छ
आफ्नो भाषालाई सभ्यता मान्छ
गल्ती गर्नु सम्म गरे पछि
त्यही गल्तीलाई
कहिले आविष्कार (?)
त कहिले संस्क्रिती (!) -
उस्को परिचय भनी मख्ख पर्छ।

ऊ अबुझ होइन
त्यसैले त ऊ मलाई हेर्दी हो
कसरी मा दिन भरी जीवन वरपर घुम्छु
केवल रातमा मात्र आफ्नो जीवन भित्र घुस्छु।

मेरो मौनताले मलाई भगवान बनायो
मेरो हिडाइले मानव मोडेल
ऊ आफ्नै ढुक्ढुकी सुन्न सक्तिन
त्यसैले म उस्लाई कतै परबाट
आफ्नो ढुक्ढुकी सुनाइ दिन्छु
यध्यपी यो मेरो अपराध हो
म उस्लाई मुटुको नशा सस्तोमा बेच्दैछु।

दुनियाँका लागि ऊ शान्त भए
मेरा लागी चुल्बुल, चन्चल
जकडिएका बन्धन तोडेर
ऊ आफु बन्छे सीमित उज्यालोमा।

राती झ्यालमा भुतहरु तर्साउन आउँदा
उस्लाई मेरो कोठाको बत्तीले तानी रहन्छ
म सुते कि सुतिन (?)
फ्याट्ट एक झलक दिन्छु कि (?)
उस्कै लागि जागेको त होइन (?)
उस्लाई लुकेर हेरेको त छुइन (?)
प्रश्नले मागेका उत्तर शब्दै बिना
दिन नसक्ने भएर त म साधारण भए!

म घर एक्लै रुङेर बस्न पर्दा
मैले उस्को गहिराही
धैर्यमा देखेछु
ऊ मेरी अध्यारोकी अनामिका।

मेरो नाममा रचिएका कविताले डायरी भरिएका छन
राती म झुल्कनासाथ उस्को
लेखाइ शुरु हुन्छ
हृदयलाई काखमा राख्छे
दिमागमा जोडै नदिइ
कहाँबाट ती पन्क्ती बाध्छे
त्यो डायरी चोरी म हेर्न चाहन्छु
के मेरा धुन उस्का शब्दले गीत बन्लान?

अरु पनि होलान उस्लाई हेर्ने
उस्ले मलाई हेरेको हेर्ने
मेरा जटा, मेरा खोस्टा, मेरा बोक्रा!
मेरा छायाँ अनी उसको एकोहोरो आलिङ्गन।

1 comment:

A random thinker said...
This comment has been removed by the author.